काठमाडौं । हास्य कलाकार किरण केसी अहिले चलचित्र निर्माणमा लागेका छन् । वरिष्ठ हास्य कलाकारद्वय महजोडीका समकालीन भएर हास्य टेलिसिरियलबाट कलाकारितामा आएका किरण हाल ‘दालभात तरकारी’ निर्माण गरिरहेका छन् । आफैले लगानी गरेर चलचित्र बनाउन कस्सिएका किरण कुनैपनि काम गर्दा निकै मिहिनेत गर्छन् त्यसैले पनि धेरैले उनको कामलाई प्रशंसा गर्दै आएका छन् ।
टेलिसिरियलमा ‘रातामकै’ उपनामबाट दर्शकमाझ चिनिएका किरणको कामलाई महजोडीले खुबै प्रशंसा गर्छन् । छायांकनमा रहेको ‘दालभात तरकारी’ टिममा उनको काम देखेर वरिष्ठ कलाकार हरिवंश आचार्यले सबैको डोजर भएको बताए । ‘किरण हामी सबैको डोजर हुनुहुन्छ, किन कि काममा यतिधेरै दुःख गर्नुहुन्छ कि, अरूले दिनभर लगाउने काम उहाँले एकैछिनमा गर्नुहुन्छ, उहाँको इनर्जीलाई सबैले मान्नैपर्छ ।’ हरिवंशले भने ।
यस्तै, ‘दालभात तरकारी’ की कलाकार निरुता सिंहले पनि किरणको काम देखेर आफूहरू अचम्मित परेको बताइन् । ‘दाईको कामप्रतिको इनर्जी देख्दा अचम्म लाग्छ, बिहान जुन इनर्जीमा आउनुहुन्छ त्यही इनर्जी दिनभर लगाउनुहुन्छ’ निरुताले भनिन् । सुदन केसीले निर्देशन गर्ने चलचित्र मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुतासिंह, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय रहनेछ ।
यस्तै, विल्सनबिक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरि पौडेल, किरण केसीको अभिनय देखिनेछ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बास्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । मित्र डी गुरुङको सम्पादन रहने चलचित्र दीर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दालभात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौडेललगायत निर्मातामा छन् ।












