चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोष्टर सार्वजनिक।

काठमाडौं := चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा शहरबाट एक साथ पोष्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एक साथ पोष्टर सार्वजनिक गरिएको थियो । ‘देशभर एकसाथ चलचित्रको प्रचारप्रसार होस् र चलचित्रलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला शहरमा बेलुन उडाएर पोष्टर सार्वजनिक गरेका हौं, चलचित्रका निर्माता विमल न्यौपानेले भन्नुभयो ।

निर्माण टिमले दुईवटा पोष्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोष्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर हुनुहुन्छ । अर्को पोष्टरमा केकी अधिकारी हुनुहुन्छ । दुईवटै पोष्टरले चलचित्रको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ । एउटा पोष्टरमा छेउछउमा केकी र मिरुना हुनुहुन्छ । बीचमा विजय हुनुहुन्छ । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाउनुभएको छ । मिरुना बेहुलीको भेषमा हुनुहुन्छ । विजय केकीको नीलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा हुनुहुन्छ ।

अर्को पोष्टरमा केकी हुनुहुन्छ, जो धागोहरूले बाँधिएको अवस्थामा हुनुहुन्छ । उहाँको हात पहेँलो, नीलो र रातो रंगको धागाले बाँधिएको छ । पोष्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ । हिमाल न्यौपानेको निर्देशन रहेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय छ । पेपरक्लिपको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहनुभएको छ ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहनुभएको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुनुहुन्छ । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।