राजधानीमा आकाशे पुल थपिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले यात्रुको चाप बढी हुने स्थानलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण कार्यलाई प्राथमिकता दिएको छ । पैदलयात्रीले जथाभाबी बाटो काट्दा दुर्घटना बढ्दै गएका कारण महानगरपालिकाले मुख्य चोक तथा बढी भीड हुने क्षेत्रमा आकाशे पुल निर्माण गर्ने योजना बनाएको हो । बढ्दो ट्राफिक जाम र आकाशे पुलको अभावले पैदल यात्रुले सास्ती बेहोर्दै आएका छन् । ट्राफिक व्यवस्थापनमा कठिनाइ देखिएको स्थानमा तत्काल आकाशे पुल निर्माण गर्न महानगर अघि बढेको हो ।

केही समयअघि उपत्यकाको चावहिल र माइतीघरमा स्थानान्तरण गर्न मिल्ने पुल निर्माण गर्ने योजना महानगरले सार्वजनिक गरेको थियो । तर हाल दुवै स्थानमा स्थायी पुल निर्माणमै ध्यान केन्द्रित गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार चक्रपथ विस्तारका लागि बाटो खुला भएसँगै चाबहिलमा स्थायी पुल बनाउने योजना अघि बढेको हो । माइतीघरमा पनि स्थायी पुल नै बनाउने तयारी भएको उनले बताए । ‘चावहिल चोकमा पुल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

चाबहिलमा आकाशे पुल निर्माण गर्ने विषयलाई लिएर चक्रपथ आयोजनासँग महानगरपालिकाले छलफल गरिरहेको छ । डिपिआरका लागि लगभग ६ महिना लाग्ने उनले बताए । सम्भाव्यता अध्ययनबाट प्राविधिक रिपोर्ट राम्रो आएमा पुल निर्माणको काम थालनी हुने उनको तर्क छ ।

त्यस्तै माइतीघरबाट सिंहदरबार दक्षिणगेट जाने बाटोतिर पुल राख्नका लागि अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । डंगोल भन्छन्, ‘अहिले उपत्यकाको चावहिल, माइतीघर, नयाँबानेश्वर र त्रिपुरेश्वरमा पुलको आवश्यकता देखेका छौँ ।’ काठमाडौं महानगरपालिकाभित्र यसअघि जमल, रत्नपार्क, पुरानो बसपार्क, सुन्धारा, भद्रकाली लगायत २० स्थानमा आकाशे पुल निर्माण भएका छन् ।