बलिउड अभिनेत्री दीपिका पादुकोणको रिल्सले इन्स्टाग्राममा रच्यो नयाँ विश्व कीर्तिमान।

एजेन्सी:= बलिउड अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । हालैमात्र हलिउडको ‘वाक अफ फेम’मा नाम समेटिने पहिलो भारतीय कलाकार बन्नुभएकी दीपिकाले अब इन्स्टाग्राममा सबैभन्दा धेरै हेरिएको रिल्स बनाउने कीर्तिमानसमेत बनाउनुभएको हो ।

दीपिकाको एक रिल्स भिडिओलाई पछिल्लो समयसम्म एक अर्ब ९० करोड (१.९ बिलियन) पटक हेरिएको छ । यो संख्या इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै भ्यूज भएको रिल्स मानिन्छ । यसअघि भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको रिल्सलाई १.६ बिलियन र फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको रिल्सलाई ५०३ मिलियन भ्यूज आएको थियो । दीपिकाले यी दुबैको कीर्तिमान उछिनेर शीर्ष स्थानमा पुग्न सफल हुनुभएको हो ।

उक्त रिल्स अमेरिकास्थित हिल्टन होटलमा छायांकन गरिएको थियो । यसमा दीपिका र हिल्टन होटलबीच पेड पार्टनरसीप रहेको जनाइएको छ । हाल दीपिकालाई इन्स्टाग्राममा करिब आठ करोड फलोअर्स छन् । सामाजिक सञ्जालमा उहाँको बढ्दो प्रभावले भारतीय कलाकारहरूको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ ।