अमेरिकामा नेपालीलाई दिइएको (टीपीएस) खारेज, अब देश फर्किनुपर्ने।

एजेन्सी := अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ।

गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्। टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो।

यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्। उनीहरुले अमेरिकामा वैध रुपमा बस्ने अधिकार गुमाउन पुगेका छन्। नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११:५९ बजे समाप्त हुने भनिएको छ।

फेरि नेपालको कुरा

सन् २०१५ अर्थात् २०७२ सालको भूकम्पअघि गैर कानुनी रूपमा यहीँ बसोबास गरिरहेका नेपाली आप्रवासीहरूलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । त्यस यता थुप्रै नेपालीहरूले टीपीएसको फाइदा लिए । वर्षौँदेखि नेपाल जान नपाएकाहरू आफ्नो परिवार भेट्न नेपाल गए र फर्केर आए ।

केही नेपालीहरूले टीपीएसको स्ट्याटसबाट आफूलाई अर्कै स्ट्याटसमा परिवर्तन गरे । अहिले यो सङ्ख्या करिब सात हजार आठ सय रहेको बताइन्छ । अमेरिकाको अध्यागमन अदालतले तीन हजार पाँच सय नेपालीलाई देश निष्कासनको आदेश दिइसकेको छ र यीमध्ये करिब एक हजार पाँच सयले चाहिँ टीपीएस लिएको जनाइएको छ ।

अब नेपालको टीपीएसको म्याद जून २४ मा समाप्त हुँदै छ । त्यसपछि नेपालीहरू स्वदेश फर्कन्छन् वा अवैध तरिकाले यतै लुकिछिपी बस्छन् अहिले नै भन्न सकिने स्थिति छैन । तर पनि आइसको धरपकडका कारण उनीहरू बसे भने पनि त्यति सहज भने हुने छैन ।