नयाँदिल्ली:= आइपिएलको दोस्रो क्वालिफायर खेल आज(आइतबार) हुँदैछ । आज राती नरेन्द्र मोदी स्टेडियम अहमवादमा हुने खेलमा मुम्बई इण्डियन्स र पञ्जाब किङ्स भिड्दैछन् । मुम्बई गुजरात टाइटन्सलाई हराएर दोस्रो क्वालिफायर पुगेको हो भने पञ्जाब रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग हारेर दोस्रो क्वालिफायरमा पुगेको हो । आज हुने खेलको विजेताले फाइनलमा आरसिबीको सामना गर्नेछ ।
यसअघि बिहीबार राती इलिमिनेटरमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बई क्वालिफायर २ मा पुगेको हो । चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २२९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०८ रनमात्र बनाउन सक्यो । गुजरातका ओपनर साई सुदर्शनले ४९ बलमा सर्वाधिक ८० रन जोडे पनि टोलीको हार टार्न सक्नुभएन । वासिङ्गटन सुन्दरले २४ बलमा ४८ रन जोड्नुभयो ।
कुशल मेन्डिस १० बलमा २०, शरर्फन रादरफोर्ड १५ बलमा २४ रनमा आउट हुनुभयो । शाहरूख खान १३ बलमा आउट हुँदा राहुल तेवातिया १६ रनमा नट आउट रहनुभयो । मुम्बईका लागि ट्रेन्ट बोल्डले २, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान १ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ५० बलमा ८१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । रोहित आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय बन्नुभएको छ । उहाँ कोहलीपछि लिगमा सात हजार रन बनाउने दोस्रो ब्याट्सम्यान पनि बन्नुभयो ।
रोहितको नाममा अब ३०२ छक्का छ । विराट कोहली तेस्रो स्थानमा हुनुहुन्छ, जसको २६६ खेलमा २९१ छक्का छ । महेन्द्र सिंह धोनी चौथो स्थानमा हुनुहुन्छ, जसले २७८ खेलमा २६४ छक्का प्रहार गर्नुभएको छ । जोनी ब्रेयस्ट्रोले २२ बलमा ४७ रन जोड्नुभयो । सूर्यकुमार यादवले २० बलमा ३३ रन बनाउनुभयो ।
तिलक बर्मा ११ बलमा २५ रन बनाएर आउट हुँदा नमन धिरले ६ बलमा ९ रन तथा हार्दिक पाण्ड्याले ९ बलमा २२ रन बनाउनुभयो । गुजरातका लागि साई किशोर, प्रसिद्ध कृष्णाले समान २ तथा मोहम्मद सिराजले १ विकेट लिनुभयो । एजेन्सी












