नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना पक्षधरको आन्दोलन विस्तारै उग्र बन्दै।

काठमाडौं := हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना पक्षधरको आन्दोलन विस्तारै उग्र बन्न थालेको छ । गणतन्त्र दिवसकै दिन (जेठ १५ गते)देखि सुरु भएको राजसंस्था पुनःस्थापना पक्षधरको प्रदर्शन शनिबार प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको हो ।

यसअघि नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको समूह त्यहाँ जान नपाएपछि बालुवाटारतर्फ लागेको थियो । राजसंस्था पक्षधरले शनिबार नारायणहिटी दरबार आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए तर, शुक्रबार साँझ काठमाडौैं जिल्ला प्रशासनले दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

निर्धारित स्थानमा सभा गर्न नपाएपछि राजावादीहरूले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्रीनिवास बालुवाटारतर्फ अघि बढेका थिए । रत्नपार्कबाट सुरु भएको शनिबारको आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको थियो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थको सरकारी निवास रहेको क्षेत्रमा पुगेर राजावादीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न गठित जनआन्दोलन समितिका नेता कार्यकर्ता पनि सहभागी थिए । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, लगायत विभिन्न प्लेकार्डसहितका नारा लगाएका थिए ।

बालुवाटारलाई सरकारले यसअघि संवेदनशील क्षेत्र घोषणा गरिसकेको छ । संवेदनशील क्षेत्रमा राजसंस्था पुनःस्थापना पक्षधर पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा केही प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो ।

राजसंस्था पक्षधरको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजसंस्था पक्षधरको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको परिचय भने खुलाइएको छैन ।

निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको प्रमाण हो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र्र लिङ्देनले राजावादीहरूसँग सरकार डराएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले आन्दोलन उत्साहप्रद रहेको बताउनुभयो ।

आगामी कार्यक्रमलाई झनै मजबुत बनाउनेबारे छलफल भइरहेको उहाँको भनाइ छ । ‘कार्यक्रम उत्साहप्रद छ । आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो,’ उहाँले भन्नुभयो, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो ।

सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’ दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको उहाँले दाबी गर्नुभयो । गणतन्त्र झन् कमजोर हुँदै गएको उहाँको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफसमेत फर्काउनुभयो । ‘प्रचण्डजी राम्रो भए÷नभए पनि गणतन्त्रको संस्थापक हो । गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पीर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ,’ लिङ्देनले भन्नुभयो, ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा-टाढाबाट मान्छेहरू बोलाएर ल्याउनुभएको थियो ।

पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो । उहाँहरूलाई थाहा छ- खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला । त्यसमा मेरो टिप्पणी छैन ।’ त्यसअघि प्रचण्डले नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गर्नुभएको थियो ।