डा. मुकुल ढकाल भन्छ: बालेनले राजनीतिक दल खोलेमा राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुन्छ।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आगामी निर्वाचनमा बालेन शाहले राजनीतिक दल खोलमा राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुने प्रक्षेपण गर्नुभएको छ। सामाजिक सञ्जालमा आफ्नो प्रक्षेपण लेख्दै उहाँले आगामी निर्वाचनमा रास्वपाले राष्ट्रिय दलको मान्यता गुमाउने जोखिम रहेकोसमेत बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ, ‘हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ। रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्न सक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक राजसंस्थाको पुनःस्थापना र सुधारिएको गणतन्त्रबिचको ध्रुवीकरण देखिएको छ-यहीँ वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।’

उहाँले २०७९ को स्थानीय निर्वाचनमा बालेन शाहको उदयले राजनीतिक परिदृश्य तरंगित बनाएको र त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई वैकल्पिक शक्तिका रूपमा हेरिए पनि रास्वपाले २० सिट जितेर अप्रत्याशित सफलता पाएको उल्लेख गर्नु भएको छ । तर हाल रास्वपाको लोकप्रियता खस्किएको र आगामी निर्वाचनमा तीन लाख मत पनि नपाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

ढकालले आगामी निर्वाचनमा राप्रपाले ३५/४० सिट जित्ने प्रक्षेपण गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने—राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ।’

यदि बालेनले नयाँ दल गठन गरेमा राजनीतिक समीकरण पूर्ण रूपमा बदलिने र हालका प्रक्षेपणहरू अप्रासंगिक हुने ढकालको विश्लेषण छ।

यस्तो छ ढकालको पोष्ट 

२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो। जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा अधिकांश राजनीतिक विश्लेषण र प्रक्षेपणहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यस परिवर्तनको मुख्य लाभ लिने सम्भावित पक्षका रूपमा चित्रण गरेका थिए। तर त्यो समीकरण नाटकीय रूपमा उल्टियो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो—जसले राजनीतिक सन्तुलन नै फेरिदियो। राप्रपा १४ सिटमा सीमित रहँदा हामी (रास्वपा) २० सिट जित्न सफल भयौं।

राजनीतिको गहिरो चासो भएका व्यक्तिहरूका लागि यस्ता प्रक्षेपणहरू नौला होइनन्—आन्तरिक अध्ययन, तथ्यांकको विश्लेषण, र आम नागरिकसँगको संवादको आधारमा यस्ता विश्लेषणहरू नियमित रूपमा भइरहन्छन्। हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ। रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्न सक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक “राजसंस्थाको पुनःस्थापना” र “सुधारिएको गणतन्त्र” बीचको ध्रुवीकरण देखिएको छ—यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।

यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने—राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ। यदि हामी अझै पनि “राजनीतिक प्रतिशोध” को पुरानै राग अलापिरहने हो, र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नविकरण, तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम चालेनौं भने, अवस्था झनै भयावह बन्दै जाने निश्चित छ।

आगामी दिनहरू थप चुनौतीपूर्ण हुने स्पष्ट संकेतहरू देखिएका छन्। “श्री ३” को रूपमा गरिएको प्रचारबाजीले हामीभन्दा बढी गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्ने जनमतलाई आकर्षित गर्दै गगन थापा जस्ता पूराना पार्टीभित्रका नेताहरूलाई फाइदा पुगेको देखिन्छ। नेकपा (एमाले) सत्ताको आडमा आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा क्रियाशील देखिन्छ, र नेकपा (माओवादी केन्द्र) ले संघीयता, धर्मनिरपेक्षता लगायत वर्तमान संविधानका आधारभूत मान्यताहरूको पक्षमा उभिएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ।

यस्तो जटिल परिस्थितिमा यदि बालेन शाहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ—हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन्। तर त्यस्तो अवस्थामा पनि एक कुरा भने स्पष्ट देखिन्छ—हाम्रो पार्टीको अहिलेको स्वार्थपूर्ण, अवसरवादी नेतृत्व र स्पष्ट दिशाहीन बहसले गर्दा भविष्य अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ। अन्ततः, बुझ्न आवश्यक कुरा के हो भने—राजनीति केवल चर्का नाराबाट होइन, सुस्पष्ट विचार र दीर्घकालीन योजनाबाट निर्देशित हुन्छ।