भारत:= नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रंगशालामा आइतबार राती भएको खेलमा नेपालले श्रीलंकालाई पाँच-शून्य गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
एकपक्षीय खेलमा नेपाललाई जिताउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्षु थापाले गोल गर्नुभएको थियो । नेपालको जितसँगै समूह ‘बी’ बाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ। लगातार दुई खेलमा हार खेपेको श्रीलंका बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा भारतसँग आठ-शून्य गोलले पराजित भएको थियो ।
समूहको अन्तिम खेलमा आज (मंगलबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ । च्याम्पियनसिपमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा माल्दिभ्स, भुटान र बंगलादेश छन् भने समूह ‘बी’ मा आयोजक भारतसँगै नेपाल र श्रीलंका रहेका छन् ।
राम थापाको कप्तानीमा रहेको नेपाली यू-१९ टिमको गोलकिपरमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानियाँ, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्णबहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सविनकुमारी लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का र फरवार्डमा पवन पाख्रिन, धवेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ रहनुभएको छ ।












