ब्रासिलिया:= ब्राजिल फुटबल टोलीको मुख्य प्रशिक्षकमा कार्लो एन्सेलोट्टी नियुक्त हुनुभएको छ । ब्राजिल फुटबल महासंघ (सिबिएफ)ले रियल मड्रिडका प्रशिक्षक कार्लोसँग सोमबार सन् २०२६ को विश्वकपलाई लक्षित गर्दै सम्झौता गरेको हो । योसँगै ६५ वर्षीय कार्लो सन् १९२० यता ब्राजिलको राष्ट्रिय टोलीको पूर्णकालीन जिम्मेवारी सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बन्नुभएको छ ।
हालसम्म उहाँ रियलसँग सम्झौतामा हुनुहुन्छ । स्पेनी ला लिगाको अन्तिम चरण मे २५ मा सकिनेछ र त्यसको भोलिपल्ट उहाँ ब्राजिलको प्रशिक्षकका रूपमा आधिकारिक रूपमा कार्यभार सम्हाल्नुहुनेछ ।
‘कार्लोलाई ब्राजिलको प्रशिक्षक बनाउनु रणनीतिक कदममात्र होइन, यो हामी विश्व फुटबलको सर्वोच्च स्थान फर्काउन दृढ छौं भन्ने सन्देश हो,’ ब्राजिल फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले भन्नुभयो, ‘उनी इतिहासकै सबैभन्दा महान् प्रशिक्षक हुन् । अब उनी संसारकै सबैभन्दा प्रतिष्ठित राष्ट्रिय टोलीसँग रहनेछन् । हामी ब्राजिलियन फुटबलका नयाँ सुनौला अध्याय लेख्नेछौं ।’
उहाँले रियलसँगै पार्मा, युभेन्ट्स, एसी मिलान, पेरिस सेन्ट जर्मन (पिएसजी), बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षण सम्हाल्नुभएको छ । रोड्रिग्सका अनुसार कार्लोले दक्षिण अमेरिकी विश्वकप छनोटका ब्राजिलका आगामी दुई खेलमा टोली सम्हाल्नुहुनेछ ।
उहाँको डेब्यु खेल जुन ५ मा इक्वेडरविरुद्ध हुनेछ । त्यसको पाँच दिनपछि साओ पाउलोमा घरेलु दर्शकअगाडि पाराग्वेविरुद्ध दोस्रो खेल हुनेछ । कार्लो र रियलबीचको सम्झौता सन् २०२६ सम्म छ । तर, यो सम्झौता समयभन्दा पहिलै समाप्त हुने अपेक्षा गरिएको छ । ब्राजिल हाल विश्वकप छनोटमा १४ खेलपछि चौथो स्थानमा छ । शीर्ष ६ टोली विश्वकपका लागि छनोट हुनेछन् । एजेन्सी












