ब्राजिलले महिला कोपा अमेरिकाको कीर्तिमानी उपाधि जित्यो।

एजेन्सी (ब्रासिलिया):= ब्राजिलले महिला कोपा अमेरिकाको कीर्तिमानी उपाधि जितेको छ । ३९ वर्षीया मार्टा चम्किएपछि फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै ब्राजिलले कीर्तिमानी नवौंपटक उपाधि जितेको हो। मार्टाले दुई गोल गर्नुभयो। उहाँले इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेर खेललाई ३-३ को बराबरीमा ल्याउनुभएको हो ।

अतिरिक्त समयमा अर्को गोल गर्दै ब्राजिललाई पहिलोपटक अग्रता दिलाउनुभयो । तर, ११५औँ मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४-४ मा ल्याउनुभयो । त्यसपछि फाइनलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । पेनाल्टी सुटआउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाउँदै आफ्नो टिमलाई लगातार पाँचौं तथा कुल नवौं कोपा अमेरिका महिला उपाधि दिलाउनुभयो ।

यो पाँचौं फाइनलमा चौथोपटक ब्राजिलले कोलम्बियालाई हराएको हो । विश्वकपमा ६ पटक र ओलम्पिकमा पनि ६ पटक खेल्नुभएकी मार्टाले ब्राजिलका लागि कुल २०६ खेलमा १२२ गोल गर्नुभएको छ । खेलमा एन्जेलिना एलोन्सोले पहिलो हाफको अन्त्यमा र अमान्डा गुटिएरेसले ८०औँ मिनेटमा गोल गर्नुभयो । गुटिएरेसले प्रतियोगितामा कुल ६ गोल गर्दै पाराग्वेकी क्लाउडिया मार्टिनेजसँगै शीर्ष स्कोररको उपाधि बाँड्नुभयो ।

कोलम्बियाका लागि लिण्डा कैसिडोले २५औँ मिनेटमा, मायरा रामिरेजले ८८औँ मिनेटमा र सान्टोसले ११५औँ मिनेटमा गोल गर्नुभयो । ब्राजिलकी डिफेन्डर टार्सियानेको आत्मघाती गोलले पनि कोलम्बियालाई अग्रता दिलाएको थियो । कोलम्बियाले तीनपटक अग्रता लिएको खेल अन्ततः ब्राजिलको जितमा टुंगिएको हो ।

ब्राजिलले अहिलेसम्म आयोजना भएका नौमध्ये आठपटक कोपा अमेरिका महिला उपाधि जितिसकेको छ र दक्षिण अमेरिकाको सबैभन्दा बलियो महिला टोली मानिन्छ । उनीहरू २००७ मा विश्वकपको फाइनल पुगेका थिए भने ओलम्पिकमा तीनपटक उपविजेता भएका छन् । एजेन्सी