[ यज्ञराज पाण्डे / हिमालय टाइम्स ]
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीले कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको अनुशासन समितिले उहाँलाई स्पष्टीकरण नदिएको भन्दै कारबाही गर्ने निर्णय लिएको हो । संस्थापक केन्द्रीय सदस्यहरूको मंगलबार बसेको बैठकले श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।
यसअघि, आइतबार बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, श्रेष्ठले तोकिएको समय सीमाभित्र कुनै जवाफ नदिएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ। गतसाता पनि केन्द्रीय सदस्यहरूको भेलाले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिँदै केन्द्रीय समितिको बैठक बोलाउन निर्देशन दिएको थियो ।
तर, उहाँले स्वास्थ्यको कारण देखाउँदै बैठक नबोलाई नेता शिव वास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । यस निर्णयलाई विधानविपरीत भन्दै नेताहरूले आपत्ति जनाएका थिए । श्रेष्ठले एकलौटी ढंगले कार्यवाहक अध्यक्ष तोकेको, केन्द्रीय समिति बैठक नबोलाएको र स्पष्टीकरणको जवाफसमेत नदिएको भन्दै अनुशासन समितिले कारबाही गर्ने निर्णय लिएको हो ।
आइतबारको बैठकले राष्ट्रिय भेला गर्ने निर्णयसमेत गरेको थियो, जसअनुसार हाल पार्टीको राष्ट्रिय भेला चलिरहेको छ । भेलामा कारबाहीको टुंगो लगाउने र कार्यकारी अध्यक्ष चयनसम्बन्धी निर्णय लिने बताइएको छ । भेलामा संस्थापक केन्द्रीय सदस्यहरू तथा निर्वाचित जनप्रतिनिधिहरू सहभागी छन् ।
अध्यक्ष श्रेष्ठको नाम पोखराको एक जग्गा हिनामिना प्रकरणसम्बन्धी घुसकाण्डमा पनि जोडिएको छ । उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भएको घुससम्बन्धी अडियोमा श्रेष्ठको आवाज सुनिएको बताइएको छ। यद्यपि, श्रेष्ठले यस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ ।
अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । विधानविपरीत कार्यवाहक अध्यक्ष नियुक्त गरेको भन्दै उहाँलाई पदमुक्त गरिएको पार्टीको दाबी छ ।
आफ्नैबाट धोका भयो : रेशम
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा कार्यवाहक अध्यक्ष तोकिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन बुधबार पुग्नुभएका चौधरीले अध्यक्ष श्रेष्ठले पार्टी विधानविपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उक्त निर्णय आफूलाई मन नपरेको बताउनुभयो ।
‘मलाई व्यक्तिगत रूपमा यो अत्यन्तै मन परेको छैन । धेरै व्यक्तिहरूको चित्त पनि दुःखेको छ । यो हाम्रो विधानविपरीत छ,’ पत्रकारहरूसँग कुरा गर्दै चौधरीले भन्नुभयो । उहाँले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिने निर्णय केन्द्रीय समिति बैठकबाट अनुमोदन नभई लिइएको आरोप लगाउनुभयो । जेलभित्रबाट पार्टी गठन गरेको स्मरण गर्दै उहाँले पार्टीको मर्म, भावना र पीडा अझै गन्तव्यसम्म नपुगेको भन्दै भावुक टिप्पणी गर्नुभयो ।
‘गन्तव्य कोबाट मिलेन ? भन्नेभन्दा पनि, आफ्नैबाट मिलेन कि, भन्ने महसुस भयो,’ उहाँले भन्नुभयो । चौधरीले राजनीतिमा प्रजातान्त्रिक पद्धति आवश्यक भए पनि कतिपय संवेदनशील मुद्दामा कठोर निर्णय (डिक्टेटरसिप) लिनुपर्ने तर्कसमेत प्रस्तुत गर्नुभयो ।
‘मेरो बच्चा राम्रो छ भन्दैमा उच्छृंखल हुन दिइँदैन, अनुशासनमा बस्नैपर्छ,’ उहाँले भन्नुभयो। राजनीतिलाई बाघ र मृगको कथासँग तुलना गर्दै उहाँले पद र सुविधाका लागि राजनीति गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । ‘राजनीति भनेकै गद्दी हो । सेवा-सुविधाका लागि हरेक मान्छे लालायित हुन्छन्,’ चौधरीको भनाइ थियो ।












