स्कारलेट जोहानसन सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री।

एजेन्सी:= हलिउड अभिनेत्री स्कारलेट जोहानसन सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री हुनुभएको छ । चलचित्र व्यापारसम्बन्धी विश्वसनीय पोर्टल ‘द नम्बर्स’का अनुसार जोहानसनले हलिउड इतिहासमै सबैभन्दा धेरै बक्स अफिस ग्रस कमाइ गर्ने कलाकारको कीर्तिमान राख्नुभएको हो ।

‘ब्ल्याक विडो’को भूमिकामा मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) मार्फत चर्चा कमाउनुभएकी जोहानसनले यस सूचीमा पुरुष कलाकारलाई समेत पछि पार्नुभएको छ । उहाँले एमसीयुका चर्चित अभिनेता स्यामुअल एल.ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राटलाई समेत उछिन्दै शीर्षस्थान हासिल गर्नुभएको हो ।

उहाँले अभिनय गरेका चलचित्रहरूले पछिल्लो समयसम्म विश्वभरबाट १४.८ अर्ब अमेरिकी डलर ग्रस कमाइ गरेका छन् । यो आँकडाले उहाँलाई हलिउड इतिहासकै सबैभन्दा धेरै कमाइ गर्ने कलाकार बनाएको हो । जोहानसनको कुल कमाइमा सबैभन्दा ठूलो योगदान मार्वल सिनेम्याटिक युनिभर्स अन्तर्गतका पाँच चलचित्रको रहेको छ ।

सन् २०१२ को ‘द एभेन्जर्स’, २०१५ को ‘एभेन्जर्स : एज अफ अल्ट्रोन’, २०१६ को ‘क्याप्टेन अमेरिका : सिभिल वार’, २०१८ को ‘एभेन्जर्स : इन्फिनिटी वार’ र २०१९ को ‘एभेन्जर्स : एन्डगेम’ जस्ता सुपरहिट चलचित्रहरूले मात्रै करिब ८.७ अर्ब अमेरिकी डलरको कमाइ गरेका थिए । जोहानसनले यो उपलब्धि हासिल गर्नु नारी कलाकारहरूको क्षमताप्रति बढ्दो स्वीकारोक्ति र सम्मानको संकेतका रूपमा हेरिएको छ ।