स्पेन युएफा नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश, उपाधीका लागि पोर्चुगलसंग भिड्ने।

लण्डन:= स्पेन युएफा नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा फ्रान्सविरूद्ध ५-४ को रोमाञ्चक जितसहित स्पेन उपाधि नजिक पुगेको हो । स्पेनले चार गोलको विशाल अग्रता गुमाए पनि अन्त्यमा जित सुनिश्चित गरेको थियो ।

खेलको उत्तरार्धमा फ्रान्सले तीव्र प्रतिक्रिया जनाए पनि हार टार्न सकेन । अब उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको स्पेनले आइतबार म्युनिखमा उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ । पराजित फ्रान्सले तेस्रो स्थानका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।

२२औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसको तीन मिनेटपछि मिकेल मेरीनोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाउनुभयो । ५४औं मिनेटमा लेमिन यमलमाथि फ्रान्सका खेलाडीले गतल ट्याकल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो ।

उक्त अवसरलाई यमलले सहजै गोलमा परिणत गर्नुभयो। त्यसको १ मिनेटपछि पेड्रीले स्पेनका लागि चौथो गोल गर्नुभयो । तर, त्यसपछि फ्रान्सले उत्कृष्ट प्रतिक्रिया जनाएको थियो । ५९औं मिनेटमा केलियन एमबाप्पेलाई पेड्रोले बक्सभित्र लडाएपछि पेनाल्टीमा सहजै गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने कोशिश गर्नुभयो ।

तर, यमलले ६७औं मिनेटमा अर्को गोल थप्दै स्पेनलाई ५-१ को अग्रता दिलाउनुभयो । ८०औं मिनेटमा केलियन एमबाप्पेले उत्कृष्ट पास गरेपछि यसै खेलमार्फत् डेब्यु गर्नुभएका रायान चेर्कीले पहिलो टचमै गोल गर्नुभयो । ८७औं मिनेटमा डानी भिभियनले आफ्नै पोस्टमा आत्माघाती गोल गरेपछि फ्रान्सले उहार गोल पाएको थियो ।

इन्जुरी समयमा कोलो मुआनीले हेडमार्फत् गोल गर्दै स्कोर ५-४ बनाउनुभयो । तर, अन्तिम मिनेटमा दबाब खेप्दै स्पेन जित हात पार्न सफल भयो । नेसन्स लिगको छोटो इतिहासमै यो सबैभन्दा धेरै गोल भएको खेल हो । खेलपछि यमलले भन्नुभयो, ‘यो एक सानदार खेल थियो । अन्त्यमा खेल अलिकति टाइट भयो । तर, हामीले राम्रो खेलेका थियौं र जितको हकदार थियौं ।’ एजेन्सी