काठमाडौं := नेपाल प्रहरीले हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।
उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले दिनुभएको जानकारीअनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएर ट्रयापमा पारेका थिए ।
उनीहरुले पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गराएकार अचेत अवस्थामा पुर्याएर उनको अश्लील फोटो र भिडियो बनाएर बार्गेनिङ गरेका थिए ।
प्रहरीका अनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर पीडितलाई ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए।
उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य समेत पारेका थिए । उनीहरुलाई विहीबार हनुमानस्थानबाट पक्राउ गरी आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।












