आईपीएल : चेन्नईलाई हराउँदै राजस्थानको यो सिजनमा सुखद अन्त्य।

Cricket - Indian Premier League - IPL - Chennai Super Kings v Rajasthan Royals - Arun Jaitley Stadium, New Delhi, India - May 20, 2025 Rajasthan Royals' Vaibhav Suryavanshi in action REUTERS/Mihir Singh

एजेन्सी := राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनलाई सुखद् अन्त्य गरेको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।

यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो । चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे ।

राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो । अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।