डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त, को हुन पौडेल ?

काठमाडौं := सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो। जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई हुनुहुन्थ्यो । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’
मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको बताउनु भयो ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनी काठमाडौँ विश्व विद्याविद्यायलका प्राध्यापक हुन् । उनीसँग अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।

उनी अनुभवी अर्थविद् हुन् । उनलाई कांग्रेसी कोटाबाटै २०७८ साउनमा योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । कांग्रेसले उनलाई कहीँ कतैबाट पनि गुमाउन नचाहने भएकाले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट टिकटसमेत दिएको थियो । उनी पराजित भए । उनी कांग्रेसको उम्मेदवार भए पनि कांग्रेसको कुनै पनि समितिमा बसेर काम भने गरेनन् ।

पार्टीले स्वतन्त्र व्यक्तिलाईसमेत टिकट दिन सक्ने भएकाले पनि गभर्नर बन्न उनलाई कुनै ऐनले नरोक्ने कांग्रेसका नेताहरुले बताउँदै आएका थिए । उनी विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ सदर गरेसँगै उनलाई गभर्नर बन्न कानूनले पनि रोकेन । उनको काम मुलुकलाई कसरी आर्थिक चलायमान बनाउन सकिन्छ भन्ने हो । त्यसैले उनले अर्थ मन्त्रालयमा आउने जो सुकै दलका मन्त्रीलाई पनि सघाउँदै आएको बुझिएको छ ।

अहिलेको सरकार कांग्रेस र एमालेको छ । प्रायः अर्थमन्त्री र गभर्नरबीच तालमेल नमिल्दा आर्थिक सूचकांकहरु तलमाथि पर्दै आएका छन् । तर विश्व पौडेल गभर्नर हुँदा एमालेलाई कुनै फरक नपर्ने स्रोत बताउँछ । किनकि मन्त्री पौडेललेसमेत विज्ञ पौडेलबाट सुझाव लिइरहेका हुन्छन् ।  विश्व पौडेलले देशको आर्थिक उन्नतिका लागि जोसुकैलाई पनि सही सुझाव र सल्लाह दिने भएकाले भोलिका दिनमा अन्य दलका अर्थमन्त्री हुँदासमेत सहजीकरणमा सजिलो हुने उनी निकटकाहरु बताउँछन् ।