रेशम पक्राउबारे गृहमन्त्रीले दिएको जवाफ सन्तोषजनक छ, सरकार छाड्दैनौ: अध्यक्ष रञ्जिता श्रेष्ठ।

काठमाडौं := नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको एकता चाँडै हुने बताउनुभएको छ । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सिके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राउत पार्टीको पूर्वनिर्धारित कार्यक्रमका लागि काठमाडौंबाहिर रहनुभएको छ । उहाँ काठमाडौं फर्किएपछि दुवै पार्टीबीच छलफल गरी एकता गर्ने मिति तय गरिनेछ ।’ यसअघि नयाँ मिति घोषणामा भएको विलम्बबारे उहाँले आफ्नो स्वास्थ्यको कारण देखाउनुभएको थियो ।

रेशम चौधरी पक्राउ प्रकरणमा गृहमन्त्रीले संसद्मा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले हालका अवस्थामा सरकारबाट बाहिरिने कुनै योजना नरहेको पनि स्पष्ट पार्नुभयो । यसअघि नागरिक उन्मुक्ति पार्टीले गृहमन्त्रीको स्पष्ट जवाफ नआए सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । श्रेष्ठले पार्टी एकीकरण तत्काल हुने बताए पनि पार्टी एकताका लागि नियमित प्रयास र छलफल भने जारी छैन ।

वैशाख १७ को घटनापछि देशभरका नेता-कार्यकर्ताको मनोबल खस्किएको भन्दै त्यसले पनि एकतामा केही विलम्ब देखिएको नाउपाका नेताहरू बताउँछन् । नाउपाका संरक्षक रेशम चौधरी पक्राउपछि भड्किएको एकता तत्काल अनिश्चित जस्तै छ । गत वैशाख १७ मा तामझामका साथ नाउपा र जनमत पार्टीबीच एकता तयारी भइरहेका बेला रेशम पक्राउले बिथोलिएको एकता अब कहिले हुन्छ टुंगो छैन ।

लामो समय कारागार बसेर निस्किनुभएका संरक्षक चौधरी प्रज्ञा भवन (एकता स्थल)बाटै पक्राउ पर्नुभएको थियो । टीकापुर नरसंहारमा दोषी प्रमाणित हुनुभएका रेशम राष्ट्रपतिबाट माफी पाएर छुट्नुभएको थियो । उहाँको रिहाइविरुद्ध सर्वोच्चमा रिट परेको थियो । रिट विचाराधीन परेकै बेला रेशम पक्राउ पर्नुभएको थियो । सबै पक्षलाई चकित खुवाउने गरी पक्राउ पर्नुभएका रेशम पक्राउले एकता भने भाँडियो । रेशम तत्कालै छुटे पनि एकता गर्न लागेका दुई दल फेरि ताम्सिएका छैनन् । रेशम पक्राउ परेपछि जनमतका अध्यक्ष सिके राउतले नै एकता प्रक्रिया रोक्नुभएको थियो । तर, एकता प्रक्रियाका लागि फेरि बोलाइएको छैन ।

विशेष सूत्रका अनुसार (नाउपा-जनमत)बीच अहिले आन्तरिक खिचातानी चलिरहेको छ । नाउपामा रेशम र रञ्जिताबीच आन्तरिक कलह छ भने जनमतमा समेत आन्तरिक तीक्तता बढ्दो छ । दुई पार्टीको तीक्तता नसुल्झिँदै एकता हुन लागेको थियो । रेशम पक्राउले त्यो पछि धकेलियो । स्रोतका अनुसार अब केन्द्रीय स्तरको भागबण्डा मिलेपछि मात्र एकता गर्ने तयारी छ ।