आहा ! तिम्रो मुहार झैं चम्किलो
सुन्दर जूनेली रातमा
तब,
त्यहाँका अरूण र तमोरले सुस्केरा दिन्छन् होला
आ–आफ्ना बासस्थानमा बसेर
मन्द स्वरमा एक आपसमा
साउती मार्दैछन् रे !
झ्याँउकिरीले पनि
भाका फेर्दै फेर्दै
म,
तिम्रो सुमधुर स्वप्निल सम्झनामा
सेताम्मै तूषारोले ढाकेको गगनलाई
नियाल्दैछु ,
सेतो बादलको टुक्रा झैं स्तब्ध
तिम्रो मुटुको धड्कन ,
महसुस गर्दै
त्यसै त्यसै लठ्ठिएर
पाखैभरि छरिएका
अनुपम चन्द्रकिरणहरूसंगै
सुसाएका ती अरुण तमोरका तालमा
सुरिलो भाखा हाल्दै गाउँदैछौ कि
तिमी त्यहाँ
म वशीभूत भएर
एकान्तमा टोलाएको हुन्छु
यहाँ,
तिम्रो सम्झनाले सताएको हृदय
विरहको आँसु बनि छचल्किन्छ
मौन साक्षी बनेर
तिम्रो यादले गर्दा
कुहिरोले ढपक्कै ढाकेको आकाशका
तारा पनि गन्न पुग्छु
बिडम्वना त्यसमा बिफल हुन्छ
तिम्रै यादमा रात बिताउँछु
बिहानीमा मिलनको आशाका
कोमल कोपिलाहरूसंगै
फूलेर फक्रने रहरमा
बस् ,
तिम्रै लागि तिम्रै लागि तिम्रै लागि !









