मैदानमा विजयी, समाजमा प्रेरणादायी बन्दै हिमालयन एफसी नेपाल।

काठमाडौं:= नेपाली खेलकुदमा हाल केही फरक गर्ने उद्देश्यका साथ सक्रिय हिमालयन फुटबल क्लब, नेपाल ‘नाम’ मात्रै होइन, यो संस्था हो, युवाको ऊर्जा, समाजको विश्वास र देशको गौरव । फुटसलको क्षेत्रलाई नयाँ पहिचान दिने उद्देश्यले स्थापना गरिएको यो क्लब पछिल्लो केही वर्षहरूमा नेपाली खेलकुद इतिहासमा सुनौलो अध्याय थप्न सफल भएको छ ।

खेलकुदमा शुद्ध समर्पण, नतिजामा उत्कृष्ट सफलता

विगत ३ वर्षदेखि नेपाली फुटसलमा सक्रिय रूपमा सहभागी हुँदै आएको क्लबले, छोटो समयमा नै ८०% भन्दा बढी राष्ट्रिय तथा स्थानीय फुटसल प्रतियोगिताको उपाधि जितेर ‘विजयको प्रतीक’ बनेको छ । उत्कृष्ट टिम समन्वय, अनुशासित प्रशिक्षण प्रणाली र कुशल व्यवस्थापनले क्लबलाई नेपाली फुटसलको मेरुदण्ड बनाइदिएको छ । त्यती मात्र नभई यस क्लबले खेलाडीहरूलाई मात्र खेलाडी होइन, राष्ट्रको प्रतिनिधि र जिम्मेवार नागरिक बनाउने दृष्टिकोणलाई आत्मसात गर्दै अगाडी बढिरहेको छ ।

खेल मात्र होइन, समाजप्रति पनि समर्पित

त्यस बाहेक हिमालयन फुटबल क्लब खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा अग्रसर रहँदै आएको छ। समाजप्रति उत्तरदायी हुँदै क्लबले विभिन्न सामाजिक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

क्लबले वि.सं. २०८० मा बाल आश्रममा च्यारिटी कार्यक्रम आयोजना गरेको थियो । जहाँ बेसाहारा बालबालिकासँग खुसी साट्दै सहयोग हस्तान्तरण समेत गरिएको थियो । त्यस्तै सोही वर्ष चाबहिलमा रक्तदान कार्यक्रमको आयोजना गरी जीवन दानको अमूल्य कार्यमा आफूलाई सामेल गरेको थियो ।

त्यस्तै सोल्टिमोडस्थित ‘आमा घर’ मा सहयोग कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई सम्मान, सहयोग र सेवा गरेको थियो । त्यस्तै २०८१ युवा माझ सामाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यका साथ पुनः चाबहिलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यसरी क्लबले समाजप्रति आफूहरु निरन्तर उत्तरदायी रहेको सन्देश दिन पनि सफल भएको छ । साथै यी क्रियाकलापहरू क्लबको “खेल र समाज सँगै” भन्ने आदर्शको जीवन्त प्रमाण हुन् ।

अन्तर्राष्ट्रिय उपस्थिति र व्यवस्थापन प्रतिनिधित्व

त्यस्तै क्लबले आफ्नो गतिविधीलाई नेपालमा मात्र सिमित नराखी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयास र पहल समेत गरेका छन् । त्यसै क्रममा क्लबका पदाधिकारीहरूले मलेसियामा आयोजना भएको “हिमालयन गोल्ड कप २०२५” मा व्यवस्थापन सम्हाल्ने उद्देश्यले भ्रमण सम्पन्न गरिसकेका छन् ।

यसले क्लबलाई अन्तर्राष्ट्रिय फलकमा प्रतिनिधित्व गर्ने संगठनका रूपमा स्थापित गराएको छ । त्यहाँ प्रतिष्ठित नेपाली फुटबल खेलाडीहरू, आयोजकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य क्लबको परिपक्व सोच र दीर्घकालीन दृष्टिकोणको प्रमाण हो । यसले क्लबलाई अन्तर्राष्ट्रियस्तर मै थप सक्रिय रुपमा अगाडी बढ्न सहयोग पुगेको क्लबको विश्वास छ ।

सफल आयोजक — उत्कृष्ट फुटसल मञ्चहरूको निर्माता

हिमालयन एफसीले सहभागिता मात्र नभई आयोजकका रुपमा पनि आफ्नो उपस्थितिलाई बलियो रुपमा पेश गर्न तत्पर छ । क्लबले आफ्नै आयोजनामा पनि अनुकरणीय इतिहास बनाएको छ ।

वि.सं. २०८१ मा चाबहिल, काठमाडौंमा आयोजित प्रतियोगितामा रु. ३,५०,००० पुरस्कार राशी राखेर क्लबले नेपालमै उत्कृष्ट व्यवस्थापनको नमूना प्रस्तुत गर्यो । त्यसबेला पनि सम्पूर्ण खेलहरू समयमै, पारदर्शी निर्णय प्रणाली, सभ्य दर्शक सहभागिता र भव्य उद्घाटन तथा समापन समारोहमार्फत प्रतियोगितालाई अझ स्तरवृद्धि गरिएको थियो ।

देशभरि कै प्रतिभाहरुलाई चलायमान बनाउन हिमालयन एफसी त्यति मै रोकिएको छैन । क्लबले आउँदो साउन तेस्रो साता (२२ र २३ गते) दोस्रो हिमालयन फुटसल गोल्डकपको आयोजना समेत गर्दैछ । नेपालमा अहिलेसम्मकै ठूलो, प्रतिष्ठित र भव्य फुटसल प्रतियोगिताका रुपमा आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी ४ लाख ५० हजार रहेको छ ।

चुच्चेपाटी, चावहिल स्थित भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट टोलीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धा, सद्भाव, र प्रेरणाको अद्भुत संगम बनाउने योजना क्लबले लिएको छ ।

प्रेरणादायीमैदानमा विजयी, समाजमा प्रेरणादायी बन्दै हिमालयन एफसी नेपाल संस्था, उज्यालो भविष्यको प्रतीक

आजको दिनमा हिमालयन फुटबल क्लब केवल एक खेल संस्था होइन — यो यूवाको जोश, समाजको आशा र राष्ट्रको सम्भावना हो । क्लबले देखाएको दृष्टिकोण, समर्पण र सकारात्मक ऊर्जा आजको पुस्ताका लागि एक उदाहरण बनेको छ । खेललाई चरित्र निर्माणको औजार बनाउँदै, समाजमा एकता, सहकार्य र परिवर्तनको सन्देश फैलाउँदै आएको छ ।

छोटो समय मै आफ्नो गर्विलो यात्रा तय गर्न सफल हिमालयन एफसी नेपालले मैदानमा मात्र नभई धेरै खेलप्रेमीहरुको मनमा पनि जित्ने संस्था बनेको छ । क्लबले जित्न मात्र नभई परिवर्तन ल्याउन पनि मैदानमा उत्रन्छ भन्ने सन्देश दिन हरसम्भव प्रयासरत । आउने दिनहरुमा खेलकुदमा खेल्न मात्र नभई धेरैको भविष्य कोर्न पनि आत्तुर छ हिमालयन ।