‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ: प्रधानमन्त्री ओली।

काठमाडौं := वर्तमान सरकारका मन्त्रीहरू एकपछि अर्को गरी भ्रष्टाचारको प्रकरणमा मुछिइरहेका छन् । पोखरास्थित लिचीको जग्गा खरिद प्रकरणमा मन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ ।

सरकारका अर्का बहालवाला भूमि सुधारमन्त्री बलराम अधिकारी पनि सोही प्रकरणमा मुछिनुभएको छ । मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब छ । तर, प्रधानमन्त्री ओलीले भने सामाजिक सञ्जालमा लेखेकै भरमा कसैमाथि कारबाही नहुने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानुनी दायराभन्दा बाहिर नरहेको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बुधबार सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने दाबी गर्दै भन्नुभयो, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ ।

यद्यपि, केही मानिसहरूको फेसन हुने गर्छ । प्रधानमन्त्रीलाई लाञ्छना नलगाई नहुने त्यस्ता मानिसहरूले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन् । अहिले पनि छानविन होस् भनेर कराउँछन् । त्यस्ता मानिसहरूपट्टि धेरै जान्नँ, चित्त पनि दुखाउँदिनँ, त्यो हृयाबिटको कुरा पनि हो । गम्भीर प्रश्न उठेको खण्डमा कारबाही हुन्छ । कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा भने कारबाही हुन्न ।’