नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जित्यो।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ । आइसिसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गर्नुभएको हो ।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । यो समूहमा क्षेत्रीय विजेताका रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इण्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए ।

फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत् गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पुर्‍याएको छ । फलोअर्स संख्या करिब ११.७ लाखबाट १५.९ लाखसम्म पुग्दै चार लाख २० हजारभन्दा बढी नयाँ फलोअर्स थपिएका छन् ।

फेसबुकमा भिडियो हेर्ने समय दोब्बर हुँदै एक करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने डोमेस्टिक पेजले मात्रै ४४ लाख मिनेटभन्दा बढी वाच टाइम हासिल गरेको छ । युट्युब वाच टाइम २७७ प्रतिशतले वृद्धि हुँदै २१ लाख ३० हजार घण्टा पुगेको छ । इन्स्टाग्राममा भ्युज चार करोडभन्दा बढी पुगेका छन्, जसमा खेलका हाइलाइट्स, खेलाडीका कथाहरू र लाइभ अपडेटहरूले फ्यानलाई आकर्षित गरेका छन् ।

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो । नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ ।