देशमा बेरोजगारिको समस्याले नेपालीको भविष्य डामाडोल, वैदेशिक रोजगारीको आस कहिलेसम्म ?

( तिलक विष्ट ) 

देशमा बेरोजगारिको समस्याले बेस्सरी थिलो थिलो बनेको छ। अझ यसको मारमा निम्नवर्गिय नागरिकहरु ज्यादा पिल्सिएका छन। बिदेश जानू अपवादका केही मान्छेहरुका लागि रहर  बाहेक सबैका लागि बाध्यताको बिषय हो ।कर्णाली र सुदुरपश्चिमबाट बर्षेणी दसै तिहार मनाएर कालापारमा खोटो बोक्न , स्याउका पेटि बोक्न, कोइलाखानि कोट्याउन होस या चाहे पुर्वबाट सिङ्गो जहान नै खाडी तिर हानीन होस ” बाध्यता अनि त्यही बाध्यताभित्रको पीडा एउटै हो।

 

राजनैतिक अस्तव्यस्तताले गर्दा देशमा आफ्नै छेमता र सिपले  रोजगारी पाउनु सपना सरह भएको छ आज प्रत्येक घरको कुनै न कुनै सदस्य प्रदेशमा छ, प्रत्येक महिना बिदेशिनेको संख्याले नया रेकर्ड कायम गर्दैछ , देशको मुख्य आयस्रोत युवाहरुले पठाएको रेमिटेन्स हो अझ यसो भनौ देशको सिङ्गो अर्थतन्त्र रेमिटेन्सले धानेको छ। यी त भए पीडा र बाध्यताका कुरा ! एकपटक कल्पना गरौ त यदि नेपालिहरुलाइ बिदेश जान बन्द भयो भने ? यदि बिदेशिहरुलाइ नेपाली कामदार नचाहिने भयो भने ?

के कारणले यस्तो हुन सक्छ त ?

समस्या नेपालको मात्र होइन विश्व बजारमा बदलिदो परिवेश र प्रबिधिको उच्चतम प्रयोग सङ्गै बेरोजगारिको संख्या डरलाग्दोसङ्ग उकालो लागिरहेको छ।  १०० जना कामदारले गर्ने काम एउटा मेसिनले गर्न सक्छ त्यो पनि कम लागत र छिटो गतिमा ” संसारमा ५/६ बर्ष अघिसम्म लाखौको संख्यामा रोजगारी प्रदान  गरिरहेका कम्पनी र अफिसहरु अहिले मानवरहित अथवा सिमित दक्ष व्यक्तीले एकै कोठामा बसेर सन्चालन गरिरहेका छन। विकसित देशहरुमा प्रबिधिको  प्रयोग गर्ने प्रतिस्पर्धा घमासान चलिरहेको छ। दिनप्रतिदिन नया प्रविधिले सबै छेत्रमा मान्छेको श्रम बिना नै सहज तरिकाले काम सम्पन्न गर्ने नया नया प्रबिधी निर्माण भैरहेका छन।

त्यस्तै अहिले विभिन्न देशले आफ्ना नागरिकको रक्षा र उचित व्यवस्थापनको लागि बिदेशबाट भित्रिनेहरुमा पुर्ण रोक लगाइरहेका छन यसको ज्वलन्त उदाहरण हो अमेरिका ” अमेरिका मात्र होइन बिश्वको शक्तिशाली र बिकसित देशका नागरिकहरुका लागि आज आप्रवासी देश प्रवेश गर्नु ठूलो चुनौती बनेको छ । विश्व बजारमा अर्थतन्त्र निरासाजनक रहेको अवस्थामा आफ्नै देशका नागरिकलाइ रोजगार दिनु मुख्य कुरा हो। बिदेशिहरुको प्रवेशले देशका नागरिकको रोजगार खोसिएको वास्तविकता हो अझ देशभित्र हुने अनैतिक गतिबिधी , अपराधमा बिदेशी नागरिकहरु संलग्न हुनुले देशको सार्वभौम सुरक्षाको लागिपनी आप्रवासी कामदारहरु सिमित गरिको छ अथवा बन्द गर्ने क्रम जारी छ।

एक समय थियो पुर्खाको देनले नेपालिहरु वीर र निडर मानिन्थे , इमान्दार र कामप्रती दृढ भनेर  बिश्वास गरिथ्यो। बिदेशका ठुला भवन र अफिसहरुमा नेपाली सेक्युरीटि अनिवार्य भेटिन्थे। अहिलेपनी मलेसिया , लगायतका अन्य खाडी मुलुकमा नेपाली सेक्युरिटीको संख्या उल्लेख्य छ। तर बिस्तारै परिवेश बदलिदै छ। अगाडि भनेजस्तै मुख्यत प्रबिधिको प्रयोगले सबै छेत्रको सुरक्षामा ग्यारेन्टी गरेको छ। मान्छेभन्दा हजारौ गुणा बाठो प्रविधी बनेको छ।  आजपनि  नेपालको शिक्षाले हाम्रो चेतनालाइ हजारौ बर्ष पर धकेलिरहेको छ। देशले उत्पादन गरेका १२ पासहरु आज , मोबाइलमा सामान्य सेटिङ बिगरिदिने हो भने बनाउन जान्दैनन , देशको  स्कुलले बनाएका टपरहरु आज व्यवहारिकतामा शून्य छन। नेपालको डिग्रीवाला युवा यदि बिदेश पस्योभने उसले रोजेको देशमा एकदम तल्लो स्तरको काम गर्नुपर्छl

नेपालको शिक्षा प्रणालिले देशमा काम लाग्ने जनशक्ती त बनाउदैन स्वाभाविक थियो तर अब ती जनशक्तिहरु बिदेशमा पनि फगत बनिरहेका छन। बिकसित कुनैपनी राष्ट्र , सरकारको मुलभुत उद्देश्य आफ्नो देशका नागरिकलाइ सम्पन्न र रोजगार उन्मुख बनाउनु नै हो, हरेक देश चाहन्छन आफ्ना नागरिक देशमै बसोस, देशमै केही गरोस। बिश्वमा पुजीवाद र सिमित व्यक्ती केन्द्रित अर्थ प्रणालिका कारण आज बिकसित देशका नागरिकहरु पनि दयनिय र गरिबिको चपेटामा परेको यथार्थ सत्य हो। यस्तो सत्य देख्दा देख्दै कुनै पनि देश यस्तो चाहदैन कि आफ्नो देशका नागरिकलाइ छोडेर बिदेशि कामदारलाई देश भित्र्यावस, यो पनि चाहदैनन कि अदक्ष कामदार भित्र्याएर उनिहरुको व्यवसाय र लगानीमा घाटा होस।

यसको प्रत्येक्ष मार नेपाललाइ पर्नेछ। नेपालको घोगन्ते र अव्यवहारिक शिक्षा प्रणालिले उत्पादन गरेका जनशक्तिलाइ अबको केही बर्षमा गन्तव्य मुलुकले पनि रोजगार दिन हिच्किचाउने छन, देशको राजनैतिक अस्तव्यस्तताबाट दिक्क भएका आम युवाहरुको चाप थामिनसक्नु हुनेछ ।  यो धेरै परको कुरा होइन हिजो अमेरिकाले बिदेशि कामदारमा कडाइ लगायो , आज जापानबाट सयौ बिध्यार्थी नेपाल डिपोर्ट गरिए, भोलि युरोपबाट फिर्ता पठाइएला,पर्सिबाट खाडी मुलुकहरुले आप्रवासी धान्न नसकिने निष्कर्ष निकाल्नेछन , बिकासको गतिमा दौडिरहेको इन्डियाले पनि नेपालबाट कामदार लिन भिसा प्रणालिको शुरुवात गर्नेवाला छ।

त्यसपछि देशमा भयावह स्थिती सिर्जना हुनेछ। यदि युवा बिदेश पठाएर रेमिटेन्स धान्ने र देश चलाउने प्लान राज्यको हो भने आजैबाट कक्षा १ कक्षा देखि नै जापानीज भाषा पढाउन थालियोस, कोरियनको सुरुवात होस, मात्रुभाषा भन्दा अंग्रेजि भाषालाइ प्राथमिकता दिइयोस, खाडिमा बेल्चा हान्ने र सेक्युरिटी गर्ने तालिमहरु सिकाइयोस। नत्र सरकार गम्भीर हुनुपर्यो, सरोकारवाला पार्टिहरु गम्भीर हुनुपर्यो।  देशभित्र सबथोक श्रोत छ, श्रोतको सहि सन्चालन र प्रयोग गर्ने युवा जनशक्ती नभएको पनि होइन, अध्ययन अनुसन्धानमा नेपाली नागरिक अब्बल छन , हरेक छेत्रमा आफ्नै देशका युवा हरुको सहभागीता सुनिश्चित होस, शिक्षाको गुणस्तरलाइ देशको भुगोल र अवस्था सुहाउदो व्यवहारिक बनाइयोस। १/२ कक्षा पढिरहेको बालकलाइ क,ख ग र ताराबाजी होइन प्रबिधिको प्रयोग बारेको ज्ञान् दिन शुरु गरियोस।

देशमा सबथोक छ  जल छ, पानी छ, बनजङ्गल छ, हिमाल छन,खेतियोग्य जमिन छ , यिनै श्रोतमा  भिज्न र परिश्रम गर्न सक्ने  बलिया पाखुरा छन। सहि दिशा निर्देश र नेतृत्व गर्न सक्ने सबल  राज्यसत्ताको आवश्यकता मुख्य हो। यो कठिन परिस्थितिबाट जोगाउन सक्ने सरकार सक्षम हुनिपर्यो। सरकारले सहि नेतृत्व गरोस प्रतिभावान नागरिकले आफै देश समृद्द र आत्मनिर्भर बनाउने छ्न।

[ लेखक : बाध्यता , गरिबी र बेरोजगारीले पिरोलिएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली श्रमिक हुन् ]