काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । पार्टी मुख्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर कात्तिक १७ गते रूपन्देही ३ मा हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तोकेको हो । पार्टी विधानको भाग २० को खण्ड ६४ ले उम्मेदवारको योग्यताबारे स्पष्ट व्यवस्था गरेको भन्दै ६ योग्यता तय गरेको छ ।
प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेस गरेको हुनुपर्ने छ । यस्तै, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार-पसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य-मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध र अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।
रूपन्देही-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ । रूपन्देही-३ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
अभियानमा २४ लाख हस्ताक्षर
रास्वपाले सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानबाट हालसम्म २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन भएको जनाएको छ । सो अभियानअन्तर्गत ४६ लाख १२ हजार ६३७ रुपैयाँ नगद संकलन भए पनि खर्च ५९ लाख ६७ हजार नाघेपछि अभियान १३ लाख ५४ हजार ४८६ रुपैयाँ घाटामा पुगेको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियान संयोजक दीपक बोहराले अभियानसम्बन्धी विवरण सार्वजनिक गर्दै अझै लामो समय अभियान सञ्चालन गर्नुपर्ने भएकाले थप खर्च हुने स्पष्ट पार्नुभयो । असार ७ गतेदेखि सुरु भएको अभियान रास्वपाका अनुसार कम्तीमा १०० दिनसम्म चल्नेछ। अभियानमार्फत रवि लामिछानेमाथि भएको भनिएको ‘राजनीतिक प्रतिशोध’विरुद्ध जनमत निर्माण गर्ने लक्ष्य लिएको पार्टीले बताएको छ ।
प्रदेशगत हस्ताक्षर विवरणमा कोशी प्रदेशबाट एक लाख ६६ हजार ८६१, मधेस प्रदेशबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ०६८, गण्डकीबाट चार लाख ३२ हजार ७२३, लुम्बिनीबाट दुई लाख ३६ हजार ५९५, कर्णालीबाट ४३ हजार ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, हृवाट्सएपमार्फत ६ लाख ५० हजार १७२ र इमेलमार्फत ८० हजार १७६ हस्ताक्षर प्राप्त भएको रास्वपाको दाबी छ ।
अभियानअन्तर्गत हालसम्म छपाइमा १७ लाख २० हजार, प्रचार-प्रसार र बुथ निर्माणमा तीन लाख ८० हजार, व्यवस्थापनतर्फ सात लाख ४५ हजार र विविध शीर्षकमा ८७ हजार रुपैयाँ खर्च भएको रास्वपाले जनाएको छ । अझै ३० लाख ३५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समेत जानकारी गराइएको छ । रास्वपाका अनुसार अभियानका लागि छुट्टै कोष स्थापना गरिएको छ र सम्पूर्ण खर्च सोही कोषमार्फत भइरहेको छ ।
पार्टीले साउन ५ गतेदेखि वडा समितिमार्फत घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । साथै, नेपाल-भारत सीमा नाकाहरू-काँकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकी लगायतका स्थानहरू, प्रमुख विमानस्थल, बसपार्क र अन्य सार्वजनिक स्थानहरूमा ऐक्यबद्धता डेस्क राखिने जानकारी दिइएको छ ।












