मलेसियामा निर्माणाधीन स्थलमा छ्डको प्रयोग गरि झगडा, लडाइँ गर्ने ९ जना विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको बाङ्सारस्थित एक निर्माण स्थलमा फलामको छड प्रयोग गरी झगडा गरेको आरोपमा ९ जना बङ्गलादेशी लगायत विदेशी पुरुषहरु लाई प्रहरीले पक्राउ गरी चार दिनका लागि थुनामा राखेको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।ब्रिकफिल्ड्स जिल्ला प्रहरी उपप्रमुख सुपरिन्टेन्डेन्ट अहमद फिरदाउस मुस्तफा कमालले जानकारी दिएअनुसार, सबै संदिग्धलाई आगामी जुलाई १८ सम्म अनुसन्धानका लागि थुनामा राख्ने अदालतको आदेश जारी गरेको छ।

उनका अनुसार घटना जुलाई १५ मा साँझ ४:५३ बजे भएको हो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर २४ देखि ३७ वर्ष उमेरका ९ जना विदेशी पुरुषलाई पक्राउ गरेको थियो। “प्रहरीले घटनास्थलबाट पहेँलो रंगका ६ वटा सुरक्षा हेलमेट र तीनवटा चाँदी रंगका फलामका स्काफोल्डिङ छडहरू बरामद गरेको छ, जसलाई झगडामा प्रयोग गरिएको आशंका गरिएको छ,” उनले भने।

घटना मलेसियाको फौजदारी संहिताको धारा १४८ अन्तर्गत हतियारसहितको दङ्गाको रुपमा अनुसन्धान भइरहेको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता झगडामा नउत्रन चेतावनी दिँदै कानुनी कारबाहीको सामना गर्नुपर्ने स्पष्ट पारेको छ।

कुनै पनि आपराधिक क्रियाकलापसम्बन्धी जानकारी भएमा क्वालालम्पुर प्रहरी हटलाइन 03-21159999 वा ब्रिकफिल्ड्स प्रहरी हटलाइन 03-22979222 वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ। मलेसिया ग्याजेट