युएई := संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।
युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी दिएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ। मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन्।
गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो। वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्नुपरेको छ।
त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो।













