काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएई) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणीकरण नगर्ने निर्णय गरेका छन् ।
बिहीबार मन्त्री भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै युएई जाने श्रमिकको न्यूनतम तलब एक हजार दिराम तय गरेका हुन् । उनले अब युएई जाने कामदारहरूको न्यूनतम तलब सुविधा १ हजार दिराम भए मात्रै राजदूतावासबाट मागपत्र प्रमाणीकरण हुने छ । त्यसभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने उनले बताए ।
युएई नेपाली कामदारका लागि आर्कषण गन्तव्यको रुपमा देखिएको जिकिर गर्दै उनले त्यहाँ स्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताएका छन् ।
उनले भनेका छन्, ‘युएई जाने कामदारको हकमा पहिले आठ सय, हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम् एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ । तोकिएको भन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणिकरण हुनेछैन ।’
यस निर्णयबाट युएईमा न्यून तलबमा काम गर्ने नेपाली श्रमिकलाई ठूलो राहत हुने भण्डारीको विश्वास छ । सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको बताउँदै उनले दूतावासले यो भन्दा तल मागपत्र प्रमाणीकरण नगर्ने जिकिर गरेका छन् । तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने भण्डारीले बताएका छन् ।












