एजेन्सी := मिस वर्ल्ड २०२५को उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जित्नुभएको छ । शनिबार भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उहाँले उपाधि हात पार्नुभयो ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइ दिनु भएको थियो । इथियोपियाकी सहभागी उपविजेता घोषित हुनुभयो । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित हुनुभयो ।
अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । यता नेपाल भने क्वार्टरफाइनल नपुग्दै बाहिरिएको थियो। मिस नेपाल वर्ल्ड सृच्छा प्रधान प्रारम्भिक चरणबाटै बाहिरिनुभएको हो ।
मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता शनिबार, मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ। मिस वर्ल्डका अनुसार, बलिउडका प्रसिद्ध अभिनेता सोनु सूदलाई समापन समारोहमा मिस वर्ल्ड ह्युम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो। मिस वर्ल्ड संगठनले १९५१ मा ‘ब्युटी विथ अ पर्पज’ नाराका साथ मिस वर्ल्ड प्रतियोगिता सुरु गरेको थियो ।












