एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा लखनउ सुपर जायन्ट्स प्लेअफ होडबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ ।
२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट हुनुभयो। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन बनाउनुभयो । लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो। सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्नुभएको थियो । मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन बनाउनुभयो । निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गर्नुभयो ।
योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ ।
आईपीएलमा कलकता नाइट राइडर्स, लखनउ, हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स पहिलो चरणबाट बाहिरिएका छन् । गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु पन्जाब किङ प्ले अफमा प्रवेश गरिसकेका छन्। अझैसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन्।












