काठमाडौं := परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ । तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको + ९२ ३३१३२९३११९ र +९२ ३४०५१७४२६१ नम्बरमा फोन गर्न वा eonislamabad@mofa.gov.np मा इमेल गर्न विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।
भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो ।
दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो । नेपाली नागरिकले नेपाली दूतावस र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ












